बेङ्गलोरमा बसोबास गर्ने नेपालीहरूले आफ्नो मौलिक रिति–रिवाज, संस्कार र संस्कृति जोगाउने उच्च उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्। यस्ता कार्यक्रमले नेपाली समाजलाई एक ठाउँमा ल्याउने, नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्ने र एकता कायम गर्ने ठूलो काम गर्दै आएका छन्। तर पछिल्ला दिनमा केही व्यक्तिहरूको अनुशासनविहीन र धम्कीपूर्ण गतिविधिले यी पवित्र प्रयासहरूमा गम्भीर चुनौती खडा गरेको छ।
कार्यक्रममा “मलाई अतिथि नबनाए चल्न दिँदैन”, “मसँग धेरै केटाहरु छन्, म कहाँ छोड्छु, उठाउँछु” जस्ता शब्द प्रयोग गर्नेहरू देखापरेका छन्। आफैंलाई गुण्डा भनेर घोषणा गर्ने यस्ता व्यक्तिहरू कार्यक्रम बिथोल्ने, आयोजकलाई थर्काउने र सर्वसाधारणलाई आतंकित पार्ने प्रवृत्तिमा लागिरहेका छन्। तर यिनीहरू असली गुण्डा होइनन् — बरु बौद्धिकरूपमा शून्य, विचारविहीन, आर्थिक हैसियत कमजोर र डरपोक पात्रहरू मात्र हुन्। प्रहरी प्रशासनको दायरामा पर्दा शरीरमै पेसाब फेर्ने यिनको ‘गुण्डागर्दी’ले समाजलाई होइन, आफूलाई मात्र हास्यास्पद बनाइरहेको छ।
नेपालमा अनैतिक कार्य गरेर भागेर बेङ्गलोर छिरेका यस्ता नक्कली गुण्डाहरूको दादागिरी धेरै दिन टिक्ने अवस्था छैन। स्थानीय प्रशासनले यस्ता गतिविधि नजिकबाट नियालिरहेको र चाँडै कानुनी कठघरामा उभ्याउने तयारी भइरहेको तथ्य सार्वजनिक भइसकेको छ। यसले नेपाली समुदायले अनुभूत गरेको डर–त्रास चाँडै अन्त्य हुने संकेत दिएको छ।
सांस्कृतिक कार्यक्रममा अतिथि र प्रमुख अतिथि भन्नुको अर्थ के हो भन्ने बुझ्नु आवश्यक छ। योग्य, समाजलाई योगदान गर्ने र उदाहरणीय व्यक्तिलाई सम्मान गर्नु सांस्कृतिक परम्पराको आधारभूत मान्यता हो। तर, आफैंलाई जबरजस्ती अतिथि बनाउने, दोसल्ला र माला खोज्ने, दारु सेवन गरेर मंचमा बस्ने प्रवृत्ति संस्कृतिको ठाडो अपमान मात्र होइन, भविष्य पुस्ताको लागि गलत सन्देश पनि हो।
अबको बाटो :
👉 यस्ता नक्कली गुण्डा र धम्कीबाज समूहलाई समाजबाट पूर्ण बहिष्कार गर्नुपर्छ।
👉 आयोजकहरूले त्रास र दबाबभन्दा टाढा रहेर योग्य र योगदानकारी व्यक्तिलाई मात्र अतिथि बनाउने परिपाटी बसाल्नुपर्छ।
👉 नेपाली समुदायले एकजुट भई कार्यक्रमलाई असामाजिक गतिविधिबाट जोगाउने दृढ संकल्प लिनुपर्छ।
👉 स्थानीय प्रशासनलाई पूर्ण साथ दिएर यस्ता तत्वहरूलाई कानुनी दायरामा ल्याउन नागरिक समाज सक्रिय बन्नुपर्छ।
बेङ्गलोरमा बस्ने नेपाली समुदायको जिम्मेवारी हो — आफ्नो संस्कृति, सभ्यता र समाजलाई यस्ता नक्कली गुण्डाराजबाट मुक्त गर्दै भावी पुस्तालाई शुद्ध र उज्यालो सांस्कृतिक वातावरण हस्तान्तरण गर्ने। यही हाम्रो साझा प्रतिबद्धता र समयको माग हो।