बझाङ जिल्ला, दुर्गाथली गाउँपालिका–२, जुजि पिपलगाउँ निवासी तथा हाल रोजगारीको सिलसिलामा भारतको बेङ्गलुरुमा बसोबास गर्दै आएका ६७ वर्षीय दमन ब. बिष्टको २०८२ साउन १४ गते राति करिब ९ बजे हृदयघात (हर्टअट्याक) का कारण असामयिक निधन भएको छ।
पारिवारिक जानकारीअनुसार, उहाँ ड्युटी जान बस चढ्ने क्रममा नै अचानक हर्टअट्याक भएपछि घटनास्थलमै उहाँको मृत्यु भएको हो।
स्व. बिष्टका दुवै छोरा हाल विदेशमा कार्यरत छन्। पिताको असामयिक निधनको खबरपछि, उनीहरू अन्तिम दाहसंस्कारमा सहभागी हुन आज राति नै बेङ्गलुरु आइपुग्ने तयारीमा रहेको परिवारले जनाएको छ।
स्व. बिष्टको अन्तिम दाहसंस्कार २०८२ साउन १६ गते, अंग्रेजी मिति अनुसार १ अगस्ट २०२५, दिउँसो १ बजे टि. आर. मिल, चामराजपेटस्थित श्मशान घाटमा गरिने कार्यक्रम तय गरिएको छ।
स्व. बिष्ट एक बौद्धिक, कर्मशील र सरल स्वभावका व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले परिवार, आफन्त, मित्रवर्ग तथा सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ।