भक्तपुर, सल्लाघारी । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले अनिर्वाचित सत्ता नेपाली जनतालाई कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। पार्टीको ११औँ महाधिवेशनका अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता जनताको मतबाट मात्र स्थापित हुनुपर्नेमा जोड दिएका हुन्।
पुर्ब प्रधानमन्त्री ओलीले भने,
“अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन। सत्ता जनताको मतबाट आउनुपर्छ, हिंसाबाट होइन।”
उनले लोकतान्त्रिक प्रणालीमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गतिविधिप्रति कडा असहमति जनाए।
ओलीका अनुसार लोकतन्त्रको मूल आधार जनमत हो। निर्वाचनबाट प्राप्त जनादेशको सम्मान नगरी बल, डर र हिंसामार्फत सत्ता कब्जा गर्ने प्रवृत्तिले देशलाई अस्थिरतातर्फ लैजाने चेतावनी दिए। संविधान, निर्वाचन प्रणाली र संसदीय अभ्यासलाई कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध एमाले सधैं दृढतापूर्वक उभिने उनले स्पष्ट पारे।
महाधिवेशनमा उपस्थित प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले पार्टीलाई अझ सशक्त, अनुशासित र जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले स्थायित्व, सुशासन र विकासका लागि जननिर्वाचित नेतृत्व अपरिहार्य रहेको धारणा राखे।
कार्यक्रममा एमालेका वरिष्ठ नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।