नवयुवा र युवाहरूको प्रतिनिधित्व गर्दै बझाङ जिल्ला दुर्गाथली गाउँपालिका–१ मा जन्मिनुभएका प्रतिभाशाली युवा भूगर्भविद् (Geologist) कमल थापा नेपाली कम्युनिस्ट पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिबाट प्रतिनिधिसभा निर्वाचनका लागि बझाङ जिल्लाको उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
विज्ञान, अनुसन्धान तथा प्राविधिक क्षेत्रमा अब्बल क्षमता देखाइसकेका थापाको राजनीतिमा सक्रिय प्रवेशले बझाङको परम्परागत राजनीतिक संरचनालाई प्रत्यक्ष चुनौती दिएको विश्लेषण भइरहेको छ। युवाको भरोसा, शिक्षित वर्गको समर्थन र स्पष्ट विकासमुखी दृष्टिकोण बोकेका थापा आज “पुरानो राजनीतिलाई विस्थापित गर्ने नयाँ आशा” का रूपमा हेरिन थालेका छन्।
सामाजिक र राजनीतिक क्षेत्रमा चिरपरिचित थापा सधैँ गाउँघरमै जनतासँग घुलमिल हुने, प्रत्यक्ष भेटघाट गर्दै समस्या सुन्ने र जनताको हितका लागि अहोरात्र खटिरहने नेता का रूपमा चिनिन्छन्। दुर्गाथली मात्र होइन, सिङ्गो बझाङ जिल्लाभर जनताको दुःख–सुखमा साथ दिने, सहयोगका लागि सधैँ तत्पर रहने उनको कार्यशैलीका कारण उनी आम नागरिकबीच लोकप्रिय छन्।
पार्टी स्रोतका अनुसार थापाको सिफारिसले बझाङमा युवामुखी राजनीति, वैचारिक स्पष्टता र विकाससम्बन्धी नयाँ बहस सुरु गराएको छ। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उनको नाम तीव्र रूपमा चर्चामा छ।
अब बझाङमा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ—
के यसपटक बझाङले परम्परा तोड्दै युवा, शिक्षित र प्राविधिक पृष्ठभूमिका भूगर्भविद्लाई संसद पठाउनेछ?