बझाङ । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जेन–जी पुस्ताको सशक्त प्रतिनिधित्व गर्ने युवा तथा योग्य नेता दिपेन्द्र जोशीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ। पार्टीभित्र संगठनात्मक क्षमता, वैचारिक स्पष्टता र सामाजिक सक्रियताका कारण जोशीलाई बझाङको उदाउँदो र भरोसायोग्य राजनीतिक व्यक्तित्वका रूपमा हेरिएको छ।
विद्यार्थी राजनीतिबाट सक्रिय जीवन सुरु गरेका जोशी राजधानीस्थित प्रतिष्ठित त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्वसचिव रहिसकेका छन्। विद्यार्थी हक–हितका मुद्दा, संगठन विस्तार, नीति संवाद र पार्टीगत अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आएका उनले कांग्रेसभित्र स्थायित्वसहितको प्रभावशाली पहिचान बनाएका छन्।
शैक्षिक रूपमा पनि जोशी उत्तिकै सक्षम मानिन्छन्। हाल उनी वातावरण विज्ञानमा पीएचडी (विद्यावारिधि) अध्ययनरत छन्। अध्ययन, अनुसन्धान र व्यवहारिक राजनीतिक अभ्यासलाई सँगसँगै अघि बढाइरहेका जोशीले ज्ञान र नेतृत्वको संयोजनलाई आफ्नो राजनीतिक पहिचान बनाएका छन्।
त्यसैगरी, जोशी नेपाल वातावरण समाजका केन्द्रीय सदस्यको रूपमा वातावरण संरक्षण, जलवायु परिवर्तन सचेतना र दिगो विकासका मुद्दामा निरन्तर सक्रिय छन्। सामाजिक उत्तरदायित्व र समसामयिक मुद्दामा उनको स्पष्ट धारणा युवामाझ लोकप्रिय बन्दै गएको छ।
यसअघि २०७९ सालमा पनि जोशी बझाङबाट समानुपातिक प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भइसकेका थिए।
जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएपछि नेता दिपेन्द्र जोशीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। यसै क्रममा उनले आज नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। भेटमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठन सुदृढीकरण र बझाङको विकासका विषयमा छलफल भएको बताइएको छ।