नेपाली कांग्रेस बझाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जनाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कार्यसमितिको बुधबार सम्पन्न बैठकबाट प्रस्तावित उम्मेदवारहरूको नाम केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको हो।
सिफारिस सूचीमा युवानेता अभिषेक बहादुर सिंहसहित नरेश बहादुर सिंह, सत्यराज भण्डारी, सुरेश मल्ल, जगत प्रसाद जोशी, प्रकाश स्नेही, नारायण हमाल, केशव राज जोशी र दिपेन्द्र जोशी प्रमुख रूपमा रहेका छन्।
त्यसैगरी समानुपातिक तर्फ चन्दा जोशी, शान्ति महत, मुकेश धामी, सुन्दर रसाइली र शान्ति पुजारा गरी पाँच जनाको नाम छनोट गरिएको छ। राष्ट्रिय सभा सदस्यका लागि अर्जुनजंग बहादुर सिंह र नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।
पार्टीको केन्द्रीय समितिको परिपत्रअनुसार आज बसेको बैठकले उम्मेदवारहरूको औपचारिक सिफारिस गरेको हो। सरकारको निर्णयअनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तथा राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय भएको छ।
जिल्ला कार्यसमिति बझाङले प्रतिनिधि सभा सदस्यका इच्छुक उम्मेदवारहरूबाट १० हजार, समानुपातिकतर्फ ५ हजार र राष्ट्रिय सभा सदस्यका लागि ५ हजार रुपैयाँ दस्तुर शुल्कसहित फाराम संकलन गरेको जानकारी दिएको छ। यदि नयाँ आकांक्षी उम्मेदवार थपिन चाहने भए भोलि बिहान ९ बजेसम्म दस्तुर बुझाएर उम्मेदवारी दिन सक्ने व्यवस्था गरिएको पनि जनाइएको छ।
बझाङ मा आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा चर्किँदै गएको देखिएको छ। पार्टी नेतृत्वले लोकतान्त्रिक विधिबाट योग्य उम्मेदवार छनोट गर्ने प्रतिबद्धता दोहोर्याएको छ।