भक्तपुर, सल्लाघारी । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनलाई लोकतन्त्रको हत्या भएको ठहर गर्दै कुनै पनि हालतमा संसद् पुनर्स्थापना गराएरै छाडिने कडा चेतावनी दिएका छन्। पार्टीको ११औँ महाधिवेशनका अवसरमा सल्लाघारीमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै ओलीले संविधानमाथि भएको प्रहार अब सह्य नहुने स्पष्ट पारे।
ओलीले सिधा चुनौती दिँदै भने,
“अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन। जनताको मतबाट बनेको संसद् हटाएर शक्ति कब्जा गर्नेहरूलाई सडक, सदन र अदालत—सबै मोर्चाबाट परास्त गरिन्छ।”
उनले जनादेश च्यात्ने, संसद् अपहेलना गर्ने र सत्ता लोलुपतामा देशलाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध एमाले निर्णायक संघर्षमा उत्रिने घोषणा गरे। ओलीका अनुसार संसद् कमजोर बनाउनु भनेको लोकतन्त्रको मेरुदण्ड भाँच्नु हो, जुन नेपाली जनताले कहिल्यै स्वीकार नगर्ने बताए।
पुर्ब प्रधानमन्त्री ओलीले संविधान, निर्वाचन प्रणाली र संसदीय सर्वोच्चताको रक्षा गर्न जनआन्दोलनसम्म जानुपर्ने अवस्था आए एमाले पछि नहट्ने चेतावनी दिए।
“सत्ता बन्दुक, षड्यन्त्र र दबाबबाट होइन, जनताको मतबाट आउनुपर्छ,” उनले दोहोर्याए।
सभामा उपस्थित हजारौँ कार्यकर्ता र प्रतिनिधिलाई सम्बोधन गर्दै ओलीले अब सम्झौता होइन, निर्णायक लडाइँको समय आएको बताए। लोकतन्त्र मास्न खोज्ने शक्तिहरूलाई जनताको बलले परास्त गरिने उनको भनाइ थियो।